यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

लोकपाटी न्यूज

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई यूएईले जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ। दुबईमा शुक्रबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनायो।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका छन्। त्यस्तै सन्दीप लामिछाने, सागर ढकाल र करन केसीले १-१ विकेट लिएका छन्। आज यूएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो।

नेपालको टोलीमा आज एक परिवर्तन गरेको छ। नेपाली टोलीको विकेटकिपर विनोद भण्डारीका स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ। नेपाल आज प्रमुख तीन तीव्र गतिका बलर पार्टटाइम मध्य गतिका बलर आरिफ शेखका साथ मैदान उत्रेको छ। यसअघि युएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको जित निकालेको थियो।

यूएईविरुद्ध नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल।