कास्की, २ असोज। संविधान दिवस २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा बुधबारदेखि सञ्चालित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी राष्ट्र सेवक कर्मचारीहरुको टीमले जित्न सफल भएको छ ।
संविधान दिवसलाई थप रचनात्मक एवम् प्रभावकारी ढंगले मनाउने उद्देश्यले विविध कार्यक्रमहरुसँगै आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगिताको फाइनल खेलमा राष्ट्रसेवक कर्मचारीहरुको टीमले पश्चिमाञ्चल खेलकूद विकास समितिका पदाधिकारीहरुको टट्मीलाई पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधी जित्न सफल टीमका खेलाडीहरु तथा प्रशिक्षकलाई बिहीबार आयोजित कार्यक्रममा प्रमूख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ र गण्डकी प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले संयुक्त रुपमा शिल्ड, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरे।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान दिवसलाई यस वर्ष थप प्रभावकारी एवं उल्लासमय तवरले मनाउने उद्देश्यका साथ प्रदेश सरकारद्वारा उक्त भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको बताए। उपाधी हात पार्ने टीम र उपविजेता टीमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै व्यवस्थापनको जिम्मा पाएको गण्डकी प्रदेश प्रहरी कार्यालयप्रति समेत उनले आभार व्यक्त गरे।
उक्त मैत्रीपूर्ण भलिवल प्रतियोगितमा मुख्यमन्त्री तथा प्रदेशस्तरीय मन्त्री र सांसदहरुको टीम, राष्ट्रसेवक कर्मचारी, पत्रकार एवं सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, पश्चिमाञ्चल खेलकूद विकास समिति र पर्यटन तथा उद्योग व्यवसायीहरुको गरी जम्मा ५ टीम सहभागी थिए ।



लाेकपाटी न्यूज

