काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धतकीय पारी खेले। उनले ३८ बलमा ५ चौकाको मद्दतमा अविजित ५४ रन बनाए। त्यस्तै, करण केसीले नटआउट ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहम्मद आदील आलमले १५ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
पीएनजीका लागि बलिङमा सेमो कमियाले तीन, चाड सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक/एक विकेट लिए।आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रेका छन्। नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको हो। नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ। पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिनस्विप गरेको थियो।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो। पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो। ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो।
नेपालको प्लेइङ -११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ (विकेटकिपर) , करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)।



लोकपाटी न्यूज

