- पुस्कर बोहरा
काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले फराकिलो जित हात पारेको छ। टियू क्रिकेट मैदानमा शनिबार भएको खेलमा मलेसियलाई ८५ रनले पराजित गर्दै नेपालले फराकिलो जित हात पारेको हो।
नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि विरनदीप सिंहले अर्वाधिक ४७ रन बनाए। त्यस्तै, कप्तान अहमद फैजले ३३, ऐनूल हाफिजले १८ र सैयद अजिजले १७ रनको योगदान दिए।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी, कमल ऐरीले दुई/दुई, कुशल भुर्तेल र रोहित पौडेलले एक/एक विकेट लिए।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २ सय २३ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले। उनले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतमा अविजित १ सय १० रन बनाए। यो नेपाली ब्याट्सम्यानले टी-२० प्रहार गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो।
यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए। उनक नेपालका लागि यो अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पहिलो शतक हो। यसअघि यो प्रारुपमा दीपेन्द्रको सर्वश्रेष्ठ प्रदर्शन ८३ रन थियो। जो उनले फिलिपिन्सविरुद्ध बनाएका थिए।
त्यस्तै, ऐरी नेपालका लागि टी-२० आई क्रिकेटमा शतक बनाउने चौथो खेलाडी समेत बनेका छन्। उनीअघि पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले राष्ट्रिय टिमका लागि शतक बनाएका थिए।
त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए। त्यस्तै, उनको पनि यो अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पहिलो अर्धशतक हो। त्यस्तै, १८ वर्षीय आदिल आलम अन्सारीले एक चौकाको सहयोगमा १४ रनको योगदान दिए।
मलेसियाका लागि बलिङमा मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १/१ विकेट लिए। सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ। तया मलेसिया भने नेपालसँग हार व्यहोरेसँगै सिरिजबाट बाहिरिएको छ। फाइनलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन्। पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेपनि नेटरनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो।



लोकपाटी न्यूज

