काठमाडौं। त्रिकोणात्मक सिरिज अन्गर्तग प्रतियोगिताको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धतकीय पारी खेले। उनले ३२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाए। त्यस्तै, रोहितकुमार पौडेलले ४१, आसिफ शेखले ३८, मोहम्मद आदिल आलमले ३१ र कुशल भुर्तेलले १७ रनको योगदान दिए।
पीएनजीका लागि बलिङमा काबुआ मोरियाले तीन, रिले हेकुरेले दुई, नोसैना पोकना र नर्मन भानुआले एक/एक विकेट हात पारे। नेपालले आजको खेलमा युवा अलराउन्डर ब्याटर आदिल अन्सारीलाई डेब्यू दिएको छ। नेपालले कुशल मल्लको स्थानमा आदिललाई नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर तथा प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू दिएका हुन्।
आदिलले एपीएफविरुद्ध १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रनको इनिङ्स खेलेका थिए। यस्तै, गत डिसेम्बरमा यू-१९ एसिया कपमा कुवेतविरुद्ध ४९ रन जोडेका थिए। यू-१९ राष्ट्रिय प्रतियोगितामा उनले सुदूरपश्चिम प्रदेशविरूद्व ४३ बलमा ७ चौका र ६ छक्कासहित ८७ रनको विष्फोटक इनिङ्स खेलेका थिए।
नेपाल आवको खेलमा विजयी भए ६ अंकका साथ एक खेल अगावै फाइनलमा पुग्नेछ। पहिलो खेलमा नेपालले पपुवा न्यू गिनीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल।



लोकपाटी न्यूज

