- पुस्कर बोहरा
काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फराकिलो जित निकालेको छ। टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले फराकिलो जित हात पारेको हो।
मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धतकीय पारी खेले। उनले ३८ बलमा सात चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१, रोहित कुमार पाडेलले १२ र दिलीप नाथले अविजित १५ रनको योगदान दिए। मलेसियाका लागि बलिङमा पवनदीप सिंहले दुई र मोहम्मद अमिरले एक विकेट लिए।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो। उसका लागि जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२, कप्तान अहमद फैजले २४, मोहम्मद अमिरले १६ र सैयद अजिजले १४ रनको योगदान दिए।
नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछाने र करण केसीले दुई/दुई, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए। जारी प्रतियोगितामा नेपालले तेस्रो खेल भोलि पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दैछ।



लोकपाटी न्यूज

