पीएनजीसँग नेपाल पराजित

लोकपाटी न्यूज

काठमाडौं। नेपालसँगको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले जितेको छ। टियू क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २-० जितेको हो। नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८. ४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो।

उसका लागि लेगा सियाकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले १ सय २ बलमा ११ चौका र एक छक्काको मद्दतमा ९० रन बनाए। त्यस्तै, सेसे बाउले ३८, चार्ल्स अमिनीले ३५, हिरिले १३, नर्मन भानुआले ११, रिले हेकुरेले अविजित ४८ र चाड सोपरले नटआउट १६ रनको योगदान दिए।

नेपालका लागि बलिङमा सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। त्यस्तै, पवन सर्राफले दुई, कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक/एक विकेट लिए। त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोेजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो।

उसका लागि ब्याटर दीपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले। उनले १ सय ४० बलमा सात चौकाको मद्दतमा १ सय ४ रन बनाए। त्यस्तै, देव खनाले पनि अर्धशतकीय पारी खेले। उनले ८६ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७२ रन बनाए।

त्यस्तै, रोहितकुमार पौडेलले ३५, भीम शार्कीले २६ र कप्तान सन्दीप लामिछानेले २४ रनको योगदान दिए। पीएनजीका लागि बलिङमा एली नोले तीन, नर्मन भानुआले दुई, चाड सोपर र चार्ल्स अमिनीले एकरएक विकेट लिए।