भारतबाट उपाधि लिएर फर्कन्छौं : कप्तान प्रीति

लोकपाटी न्यूज

काठमाडौं। भारतमा आयोजना हुने यू-१८ महिला साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला टिमलाई शुक्रबार अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले विदाइ गरेको छ। नेपाली टिमकी कप्तान प्रिती राईले तीन टोली सम्मिलित प्रतियोगितामा नेपालको लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी बताइन्।

नजिकिँदै गरेको महिला लिगका लागि तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र विपक्षी टिम भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले विश्वास व्यक्त गरिन्।

लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टिमले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ।

महिला टिमलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बन्चित भएको थियो। तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जम्शेदपुरमा मार्च १५ देखि २५ सम्म प्रतिस्पर्धा गर्दैछन्।

च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार भारत प्रस्थान गर्नेछ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।

यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। यहि प्रतियोगिताका लागि मुख्य प्रशिक्षका दर्शनभक्त राज लावतले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए।