झापाले जित्यो ‘इक्युवालिटी कप’ महिला क्रिकेटको उपाधि

लोकपाटी न्यूज

विराटनगर। विराटनगरमा भएको प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट २०२२’ प्रतियोगिताको उपाधि झापाले जितेको छ। बुधबार भएको फाइनल खेलमा मोरङलाई १ सय २१ रनले पराजित गर्दै झापाले उपाधि जितेको हो।

वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको झापाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९५ रन बनायो।

उसका लागि कप्तान रुबिना श्रेत्रीले सर्वाधिक ६५ रन बनाइन्। त्यस्तै, अप्सुरी बेगमले ४० रनिमा तामाङले अविजित २२ रनको योगदान दिइन्। मोरङका लागि बलिङमा कप्तान अन्सु जैसवालले २ र काजल राजवंशीले १ विकट लिइन्।

झापाले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। उसका लागि टीक साहले २७ र सानु राजवंशीले २४ रन बनाइन्। झापाका लागि बलिङमा एलिसा खडिया, निसा साह र लतिका राजवंशीले १/१ विकेट हात पारिन्।