विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका उनले विश्वासकाे मत प्राप्त गरेका हुन्।
उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन् । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत मात्र परेको छ ।
राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च रहेका छन् । प्रमुख विपक्षीमा एमाले रहेकाे छ।



लोकपाटी न्यूज
