प्रहरी ऐन बनाएर छिट्टै प्रहरी समायोजन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

Hikmat_Karki
लोकपाटी न्यूज

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका-२०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रममा आज उनले अपराधीलाई कानुनको दायराभित्र ल्याउन सक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गरे। उनले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बन्नुपर्ने धारणा राखे।

प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘सङ्घीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ।’ सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र स्रोतले सम्पन्न हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले प्रहरी संरचना सवारीमा ठूलो लगानी गरेको जानकारी दिए।

सूचना प्रविधिको विकाससँगै प्रहरीले पनि आफूलाई सोहीस्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘जनताको जीउधनको सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण छ।’ उनले प्रदेश सरकारले प्रहरीको माध्यमबाट शान्ति सुरक्षा, सुशासन र शासकीय पद्धति सुधार गर्न प्रयत्नशील छ भन्दै प्रहरीको विशिष्ट भूमिकाले नै जनता वर्तमान व्यवस्थाप्रति नतमस्तक छ भने।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले नेपाल प्रहरीले शान्ति सुरक्षाका अतिरिक्त आपत्विपद्का घटनामा खेलेको भूमिकाको सराहना गरे। उनले नेपाल प्रहरीको कार्यक्षमता, दक्षता र व्यावसायिकता सशक्त हुनुपर्ने भन्दै प्रदेश सरकारले प्रहरीका ५८ भवन, १४ प्रहरी भ्यान र सयौँ मोटर साइकल वितरण गरेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्