विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।
आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गरे। उनले बालबालिकाको अधिकार रक्षा गर्दै उनीहरूमा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन सकिने उल्लेख गरे।
‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। यसबाट बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषय समेट्दै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको छ,’ उनले भने।
मुख्यमन्त्री कार्कीले अझै पनि कोशी प्रदेशका दुर्गम गाउँ र बस्तीका बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत वञ्चित हुनुपरेको अवस्था रहेको चर्चा गर्दै उक्त समस्या समाधान गर्न सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको बताए। आज ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ बाल दिवस २०८१ मनाइँदै छ।



लोकपाटी न्यूज
