टी–२० विश्वकप : न्यूजिल्याण्ड सेमिफाइनलमा

लोकपाटी न्यूज

काठमाडौं । अफगानिस्तानमाथि सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। न्यूजिल्याण्डकाे सेमिफाइनलकाे यात्रासँगै भारत भने टी–२० विश्वकपबाट बाहिरिएको छ ।

अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसको सुरुवात खराब रह्यो ।

ओपनर मोहम्मद शाहजाद २ र हजरातुल्लाह जजई मात्र ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा रहमानुल्लाह गुरबाजी ६ रनमा आउट हुँदा अफगानिस्तानको स्कोर मात्र १९ रन थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नजीबुल्लाह जदरानले आक्रामक पारी खेले । चौथो विकेटका लागि गुलाबुद्धिन नाबीसँग ३७ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि मोहम्मद नाबीसँग ५९ रनको साझेदारी गरे ।

गुलाबुद्धिन नाबी १५ र मोहम्मद नाबी १४ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका जदरानले ७३ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए ।