काठमाडौं। अपि पावर कम्पनीले लिलामी बिक्रीमा ल्याएको साढे १३ लाख कित्ता शेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ।
कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो। सोमबारदेखि उक्त शेयरको बिक्री बन्द हुने भएको हो।
कम्पनीले कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गरेको हो। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज बैंकिङ समयसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्न सो वा सोभन्दा बढी रकम अंकित गरी पेश गर्नुपर्ने हुन्छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।



लोकपाटी न्यूज