ह्वात्तै घट्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

gold pic
रासस न्यूज

काठमाडाैं, १० भदाै। पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा आज भने गिरावट आएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो। सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९०० का दरले घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० कायम भएको छ। सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० पुगेको थियो। सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६० मा कारोवार भइरहेको महासंघले जनाएको छ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य तीव्र गतिमा उकालो लाग्न थालेको हो। साउन महिनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो। भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ। भदौमा छापावला र तेजाबी सुन प्रतितोला रु दुई हजार ५०० ले वृद्धि भएको छ। तीव्र वृद्धिका बीचमा सुनको मूल्य आज प्रतितोला रु ९०० ले घटेको हो।

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ कारोवार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन्। विश्व बजारमा आज सुनको मूल्य सोमबारको तुलनामा केही घटेको छ। मङ्गलबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३०.३५ अमेरिकी डलर कायम भएको छ। सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो क्रममा रहेको सुनको मूल्यले स्थानीय बजारलाई दबाबमा राखेको हो। अमेरिकी डलरको सटही दर बढेसँगै सुनको मूल्य पनि प्रभावित भएको हो। चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ।

सुनको मूल्यमा उतारचढाव देखिएपछि सुनको खपत भने ह्वात्तै घटेको छ। दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय बिक्री ह्वात्तै खुम्चिएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्