काठमाडौं, १० साउन। मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको छ। एक महिनायता मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको हो।
खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन्। काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार थोकमा किन्दा तयारी कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँ पर्छ। यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको नेपाल मासु व्यवसायी संघका द्वितीय उपाध्यक्ष उमेश खड्गीले बताए।
अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य अचाक्ली बढाइएको बीसीको भनाइ छ। यस्तै, खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको उपाध्यक्ष खड्गीको भनाइ छ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको छ। असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो। स्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुग्यो। असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको संघले जनाएको छ।
असार ३० गते कायम भएको तयारी मासुको मूल्य पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ। उत्पादन घट्दा मूल्य बढेको संघको भनाइ छ। ‘चल्लामा लगानी गर्दा बर्डफ्लूले नोक्सानी ब्यहोर्नु पर्ला भनेर लगानी गरेनन्, तर मासुको माग उस्तै रह्यो र उत्पादन घटेपछि स्वभाविकरुपमा मूल्य बढ्यो,’ संघका अध्यक्ष बीसीले भने।
सरकारले बजेटमार्फत दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा कर लगाएपछि दाना पनि महँगिएको र मूल्यमा असर परेको पनि बीसीले बताए। थोक मूल्य भन्दा २०\३० रुपैयाँ नाफा खाएर मासु बिक्री गर्न सकिने भए पनि खुद्रामा पनि प्रतिकिलो थप एक सय रुपैयाँ हाराहारी मूल्य बढाइँदा उपभोक्ता झनै मारमा परेको बीसीको तर्क छ।
यस्तै भारतबाट नेपालमा आयात हुने खसीमा सरकारले कडाइ गरेपछि मूल्य आकाशिएको खड्गीले बताए। नेपालको उत्पादनले मासुको माग धान्नै नसक्ने भएकाले मूल्य दिन प्रतिदिन बढ्न गएको उनको भनाइ छ।
कुखुरा र खसीको मासुमा मूल्य बढाइएको बारे स्पष्ट जवाफ पेश गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीहरुलाई छलफलमा बोलाएको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले मासुको मूल्यवृद्धिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए।
व्यवसायीले कालोबजारी गरेको पाइए कडा कारबाही गरिने उनले चेतावनी दिए।उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकार निरीह भएको फाइदा उठाउँदै व्यापारीले कालोबजारी गरेर उपभोक्ताको ढाड सेकेको प्रतिक्रिया दिए।
उपभोक्ताले दैनिक प्रयोग गर्ने वस्तुको मूल्य निर्धारण गर्ने कार्यमा सरकार सहभागी नै नभएपछि अराजकता झँगिएको उनको आरोप छ। बजारमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री भइरहेको व्यवसायीले नै बताएका छन्।



लाेकपाटी न्यूज