बिच भलिबल : पुरुषतर्फको उपाधि आर्मी र महिलातर्फको उपाधि एपीएफलाई

Volleyball pic 1
लाेकपाटी न्यूज

कास्की, ९ असार । पोखरामा सञ्चालित छैठौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ एपीएफ क्लब जितेको छ।

कास्की जिल्ला भलिबल सङ्घको आयोजना र नेपाल भलिबल सङ्घको तत्वावधानमा गएको असार ५ देखि फेवाताल किनारमा सञ्चालन भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो।फाइनल खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीको ‘ए’ टिमका मानबहादुर श्रेष्ठ र दीलकुमार सुनारको जोडीले गण्डकी प्रदेशको ‘बी’ टिमका राजु विक र अनिल दर्लामी मगरको जोडीलाई हराएको हो। गण्डकी प्रदेशलाई हराउने क्रममा आर्मीले २१\१६ ,१८\२१ र १८\१६ को नतिजा निकालेको थियो ।

महिलातर्फको फाइलन खेलमा सशस्त्र प्रहरीको ‘ए’ टिमकी विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपाल प्रहरी ‘ए’ टिमकी नीता शाह र कोपिला उप्रेतीको जोडीलाई समान २१\१३ को सोझो सेटमा पराजित गरेको हो।

प्रतियोगिताको विजेता टिमले ३० हजार रुपैयाँ, ट्रफी र प्रमाण प्राप्त गरे भने उपविजेताले २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका दीलकुमार सुनार तथा महिलातर्फ एपीएफकी विनिता बुढाथोकीले प्राप्त गरे । उनीहरुले समान तीनरतीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशको ‘ए’ टिमका रमेश केसी र सञ्जुविक्रम शाहको जोडीले तेस्रो स्थान हासिल गर्दा महिलातर्फ नेपाल प्रहरीको ‘बी’ टिमकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडी तेस्रो भए। दुवै टिमले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।