लन्डन, ४ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार राति भएको खेलमा आयोजक इंग्ल्यान्डले अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकालेको हो।खेलमा ३ सय ९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४७ रनमात्र बनाउन सक्यो।
यसका लागि मशमतुल्ला शाहिदीले ७६ रन बनाउनुबाहेक अन्य कसैले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन्। अफगानिस्तानलाई दबाबमा राख्न इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले ३–३ विकेट लिए। यसअघि म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९७ रनको विशाल योगफल तयार पारेको थियो।
इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे। विस्फोटक व्याटिङ गरेका मोर्गनले ७१ बलमा १७ छक्कासहित १४८ रन बनाए। मोर्गन एकदिवसीय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्।
जितसँगै इंग्ल्यान्ड ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भए पनि रनरेटका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा झरेको छ। अंकविहीन अफगानिस्तान तालिकाको पुछारमै छ। प्रतियोगिताअन्तर्गत आज न्यूजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने छन् ।



लाेकपाटी न्यूज

