५८ सवार बस दुर्घटना, १८ काे मृत्यु

bus accident
लाेकपाटी न्यूज

काठमाडाैं। आइतबार भएको एक बस दुर्घटनामा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा भएकाे साे भयानक दुर्घटनामा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइते भएका ३३ जनाकाे भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।

कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र द्रुतगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त बसमा ५८ जना यात्रु सवार रहेकाे जानकारी पाइएकाे छ।

भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी सधान, चालकको लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ ।  विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियाे। –एजेन्सी