विश्वकप क्रिकेट : शीर्ष स्थानमा उक्लने दाउमा अष्ट्रेलिया

sl_vs_aus pic
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ । विश्वकपको साविक विजेता अष्ट्रेलियाका लागि जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्धको खेल अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर हुनेछ।

अष्ट्रेलियाले शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजे प्रतियोगितामा कमजोर देखिएको पूर्व विजेता श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। शुक्रबार राति वेष्ट इण्डिजलाई ८ विकेटले हराएसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएपछि ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ। इंग्ल्याण्डको पनि समान ६ अंक नै छ भने न्यूजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ।

श्रीलंकालाई पराजित गरेमा अष्ट्रेलिया शीर्ष स्थानमा पुग्नेछ। यसअघि पाकिस्तानलाई ४८ रनले पराजित गरेको खेलमा ओपनर डेविड वार्नरले शतक प्रहार गरेका थिए। अष्ट्रेलियाले यस विश्वकपमा सन्तुलित प्रदर्शन गरिरेको छ। बल टेम्परिङ प्रकरणपछि प्रतिबन्ध झेलेर पुनरागमन गरेका वार्नर र स्टिभ स्मिथले आफूलाई पुनः प्रमाणित गरिसकेका छन्। श्रीलंकाविरुद्धको खेलमा पनि उनीहरु नै निर्णायक हुन सक्नेछन्।

बलिङमा मिचेल स्टार्कको फास्ट बलिङ निर्णायक बनिरहेको छ। अष्ट्रेलियालाई स्पिन आक्रमण अहिले चिन्ताको विषय हो। नाथान ल्योनले श्रीलंकाबिरुद्धको खेलमा टिममा फर्कने अपेक्षा गरिएको छ। प्रतियोगिताको सुरुवाति २ खेलको विश्लेषण गर्दा श्रीलंकाली टोली यसपल्ट निकै कमजोर देखिएको छ। इंग्ल्याण्डको पिचमा उसका ब्याट्सम्यानहरुले अफगानिस्तानविरुद्ध समेत संघर्ष गर्नुपरेको थियो।

अष्ट्रेलियाविरुद्ध जित हासिल गर्ने हो भने श्रीलंकाले ब्याटिङ बलिङ र फिल्डङ गरी तीनै पक्षमा आफ्नो स्तर सुधार गर्नुपर्नेछ। एन्जेलो म्याथ्युज, लसिथ मालिंगा, थिसरा परेराजस्ता अनुभवी खेलाडीले आफ्नो लय भेट्टाउन सकिरहेका छैनन्।