काठमाडौं, ३१ जेठ । फिफाको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ। विश्व फुटबल महासंघ (फिफा) ले जुनका लागि शुक्रबार जारी गरेको वरियतामा नेपाल १ सय ६५ औं स्थानमा पुगेको छ। यसअघि नेपाल १ सय ६१ औँ स्थानमा थियो।
नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेले पनि नेपालको वरियता खस्किएको हो। नेपालले दुई साता अघि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासँग २\० को हार व्यहोरेको थियो।
यस्तै नेपालले आफूभन्दा ३६ औँ स्थान माथिको चाईनिज ताईपेसँग १\१ गोलको बराबरी खेलेको थियो। दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा माथि भारत १ सय १ औँ स्थानमा र माल्दिभ्स १ सय ५१ औँ स्थानमा रहेको छ।
नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८३ औँ, भुटान १ सय ८६ औँ, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औँ स्थानमा रहेको छ। विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ। फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, ईङ्ल्याण्ड चौंथो, पोर्चुगल पाँचौ स्थानमा रहेका छन्। छैटौं स्थानमा क्रोएसिया, सातौंमा स्पेन, आठौंमा उरुग्वे, नवौंमा स्विजरल्याण्ड र दशौं स्थानमा डेनमार्क रहेका छन्।



लाेकपाटी न्यूज

