आयोगको पूर्ण बैठक बसेर निर्णय हुन्छ, अहिलेलाई आवेदन जारी राखौं : प्रवक्ता शर्मा

Kiran Kumar Sharma
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले लोकसेवा विज्ञापनका सन्दर्भमा आयोगको पूर्ण बैठक बसेर निर्णय गर्ने बताउँदै अहिलेलाई आवेदन जारी राख्न आग्रह गरेका छन्। उनले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गर्दै यसतो बताएका हुन्।

विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेर मात्रै निर्णय गरिने उनको भनाई छ । उनले आयोग स्वच्छ निकाय भएकोले कानून र संविधानको पूर्ण पालना गर्ने विश्वास दिलाए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने, ‘आयोगले योग्य र भरोसायोग्य जनशक्ति नियुक्ती गर्छ । आयोग विवादमा आउँदैन।’

आयोगले समितिको निर्देशन तथा निर्णयलाई सम्मान गर्ने उनको भनाई छ । उनले भने, ‘समिति आफैंमा सार्वभौम निकाय हो । हामी समितिको निर्णय पालना गर्छौं ।’ यद्धपी उनले आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको सुनाए । उनले थपे, ‘समितिको निर्देशन आयोगमा दर्ता भैसकेको छ । अब यस सम्बन्धमा छलफल गरेर मात्रै हामी यथाशक्य छिटो निष्कर्षमा पुग्छौं ।’

उनले आयोगको पूर्ण पदाधिकारीको बैठक नबसुञ्जेल आवेदन प्रक्रिया नरोकिने पनि स्पष्ट पारे । उनले भने, ‘हामी छिट्टै यसको समाधान दिन्छौं । उम्मेदवारलाई अप्ठ्यारो नपरोस् भन्नेतर्फ आयोग सचेत छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्