पाकिस्तानले हारेपछि प्रशिक्षक उल्मरको रहस्यमयी मृत्यु

Bob ulmar
लाेकपाटी न्यूज

एजेन्सी। सन् २००७ को विश्वकपका बेला पाकिस्तानी टोलीका प्रशिक्षक बब उल्मर थिए। उक्त विश्वकप वेस्ट इण्डिजमा आयोजना भएको थियो।

कुनै समय उनी इङ्ल्याण्डको राष्ट्रिय टोलीका खेलाडी र दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका प्रशिक्षक रहेका उनको सन् २००७ को विश्वकपका क्रममा दुःखद निधन भयो। उनको रहस्यमयी निधनले लामो समयसम्म विश्व क्रिकेटलाई तताएको थियो।

मार्च १७ मा पाकिस्तान र आयरल्यान्डबीचको खेल थियो। उक्त खेलमा पाकिस्तानी टोली अप्रत्याशित रूपमा आयरल्याण्डसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा तीन विकेटले पराजित हुन पुग्यो। सोही कारणले पाकिस्तान विश्वकपको उपाधि होडबाट बाहिरिन पुग्यो। त्यो हारले पाकिस्तानी क्रिकेटमा ठूलै खैलाबैला मच्चायो।

पाकिस्तानी खेलाडी र पदाधिकारीहरूले हारको दोष प्रशिक्षक बब उल्मरमाथि थोपरे। विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी टोलीभित्रै असहज स्थिति सिर्जना भएको थियो। संयोगले पाकिस्तानी टोली विश्वकपबाट बाहिरिएको केही समयपछि नै मार्च १८ मा जमैकास्थित आफू बसेको होटलमा प्रशिक्षक बब उल्मरको रहस्यमयी तरिकाले निधन भयो। उनको मृत्यु शंकाको घेरामा र्पयो। प्रशिक्षक बब उल्मरलाई विष दिएर मारिएको आरोप लगाउनेको जमात पनि निकै ठूलो थियो।

मृत्यु हुनुअघि बब उल्मरले बान्ता पनि गरेका थिए। सोही कारणले जमैकन प्रहरीले उनको मृत्युको विषयमा अनुसन्धान सुरु र्गयो। विश्वकप सकिएको लामो समयसम्म पनि उनको मृत्युको विषयमा अनुसन्धान जारी रह्यो। निकै लामो अनुसन्धानपछि जमैकन प्रहरीले बब उल्मरको स्वाभाविक मृत्यु भएको र उनको निधनमा कसैको हात नरहेको निष्कर्ष निकालेको थियो।