काठमाडौं, ७ जेठ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान गरेका छन्। हालै आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीपल मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्।
केही दिन चितवनमा घर परिवारसँग बिताएका सन्दीप अस्ट्रेलियाबाट जुनको दोस्रो साता फर्कने जनाइएको छ। नेपाली क्रिकेटको विकासका विषयमा अस्ट्रेलियामा छलफल गर्ने सन्दीपले बताए। नेपालले एकदिवसीय वरियता पाएपछि पछिल्लो समय नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेकाले नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा केही पहल गर्ने उनको भनाई थियो।
अस्ट्रेलियाको बीगबासमा मेलवर्न स्टार्सबाट खेलेका उनले त्यहाँ रहँदा क्लबका पदाधिकारीसँग छलफल गर्ने पनि बताए। नेपालका केही खेलाडीहरुलाई प्रशिक्षणका लागि अस्ट्रेलियामा व्यवस्था गर्ने विषयमा पनि छलफल हुने उनको भनाइ छ।



लाेकपाटी न्यूज

