९ जनाको हत्या गरेर यी युवकले गरे आत्महत्या 

pachathar pic
लाेकपाटी न्यूज

पाँचथर, ७ जेठ। पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या प्रकरणमा मृतककै आफन्तको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।

उनका अनुसार अहिले प्रहरी उनकै संलग्नता रहेको निष्कर्षमा पुगि नसकेको भएपनि प्राप्त तथ्यहरुलाई विष्लेषण गर्दा उनीतर्फ आशंका गर्न सक्ने आधारहरु फेला परेका छन्। आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन्। प्रहरी टोलीले अनुसन्धान गरिरहेको र माखिमकै संलग्नता हुन सक्ने भन्दै त्यसतर्फ अनुसन्धान सोझ्याएको छ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ भने सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली  पनि अनुसन्धानको लागि घटनास्थल पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्