कुखुराको दानाको मूल्य घट्यो, किसानलाई राहत

chicken-feed
लाेकपाटी न्यूज

काठमाडौं, ४ जेठ। शनिबार कुखुराको दानाको मूल्यमा गिरावट आएको छ। दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य घटाउने निर्णय गरेको हो।

दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य घटेकाले दानाको मूल्य घटाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए। कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतका कच्चा पदार्थ आवश्यक हुन्छ। करीब ८० देखि ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको छ। उनले भने, ‘भटमास नेपालमा भुटेर खानसमेत पुग्दैन। सय प्रतिशत भटमास र पिना भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।’

नेपालमा उत्पादित मकैले ३० प्रतिशत मात्रै माग पूर्ति गर्ने भएकाले ७० प्रतिशत मकै भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘दानाको मूल्य घटेपछि किसानलाई धेरै राहत भएको छ’, पुरीले भने, अझै मूल्य घट्नुपर्ने हो, तर त्यस अनुपातमा मकैको मूल्य घट्न सकेन।’ दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमास पिना आवश्यक हुन्छ। उनले मकैको मूल्य केही घटे पनि भटमास, पिना र ढुटोको मूल्य झन महङ्गो भएको बताए।

भरतपुरका पोल्ट्री किसान धर्मबहादुर कार्कीले दानाको मूल्य घटेपछि केही राहत मिलेको बताए। उनले भने, ‘लागतअनुसार अझै अण्डाको मूल्य पाइएको छैन। यस्तै अवस्था रहिरहे धेरै किसान विस्थापति हुने अवस्था छ।’
उनले राज्यले किसानलाई प्रोत्साहन गर्ने खालको योजना ल्याउन नसकेको धारणा राखे। उनले किसानलाई ऋण सहुलियत दिने व्यवस्था गर्नुपर्ने माग गरे।

ब्रोइलर कुखुराको दाना ‘बीपीएच’ किसान मूल्य प्रतिकिलो ६२ रुपैँया ५० पैसाबाट घटेर रु ६० पुगेको छ। यस्तै बिवान दाना ६१ रुपैयाँ ५० पैसाबाट घटेर रु ५९ पुगेको छ भने बिटु दाना रु ६० बाट घटेर ५७ रुपैयाँ ५० पैसा पुगेको छ। लेयर्स कुखुराको तीन नम्बरको दाना ५२ रुपैयाँ ५० पैसाबाट घटेर रु ५० पुगेको छ।

मकैको मूल्य रु ४५ बाट घटेर रु ३५ मा झरेको हो। यसले प्रतिबोरा दानाको मूल्य रु १२५ घटेको छ। नेपालमा मकैको उत्पादन वर्षेनी घट्दै गएको छ भने भारतमा निर्भर हुनुपर्ने बाध्यता छ। ढुवानीका कारण चितवनमा एक रुपैयाँ सस्तो पाइन्छ।

गत वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृिद्ध भएको भन्दै उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा. तिलचन्द्र भट्टराईले भने, ‘यसले पोल्ट्री क्षेत्रमा उतारचढाव भयो।’ दाना उद्योगमा सधैंँ भारतको भर पर्नु परेका कारण समस्या सिर्जना हुने गरेको भट्टराईको भनाइ छ। ‘भारतमा गत वर्ष मकैको मूल्य अकाशियो’ उनले भने, ‘विभिन्न देशमा निर्यात गर्ने भारतले आफैँ मकै आयात गर्नुपर्ने अवस्था आयो।’

सरकारले यस वर्षदेखि भन्सार छुट कटौती गरेपछि कच्चा सामग्री प्रतिकिलो एक रुपैयाँ ५० पैसाले महङ्गो पर्न गएको भट्टराईले जानकारी दिए। अहिले कच्चा पदार्थको ५ प्रतिशतसम्म कर लाग्ने गरेको उनले बताए। सरकारले मकै उत्पादन गर्ने वातावरण बनाउन सके बजारको जिम्मा आफूहरूले लिने उद्योगी व्यवसायीले बताएका छन्।

नेपालमा दैनिक तीन हजार मेट्रिकटन दाना खपत हुन्छ। गत वर्ष मात्र रु ३० अर्बको मकै, भटमास आयात भएको थियो। नेपालमा साना ठूला गरी १०५ कुखुराको दाना उद्योग छन

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्