खेलकुदले अनुशासन र राष्ट्रको पहिचान दिन्छ : प्रचण्ड

Chair-Dahal-Prachanda-1-750x430
लाेकपाटी न्यूज

काठमाडौ, १४ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। ललितपुरको लगनखेलमा नेपाल भलिबल सङ्घले आजदेखि सुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको छ भने खेलकुद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ ।’ केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले त्यो कुरालाई प्रमाणित गरेको उनले उल्लेख गरे।

उनले खेलकुद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा समेत जोड दिए। अध्यक्ष प्रचण्डले आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्टाउन पहल गर्ने बताए। नेपाल भलिबल सङ्घले यसै वर्ष अन्तर्राष्ट्रिय स्तरको महिला भलिबल आयोजना गरेको तयारी प्रति उनले सहयोगको प्रतिबद्धता पनि जनाए।