विप्लव समूहले जलाए दुई गाडी

fire in car
लाेकपाटी न्यूज

मकवानपुर, ५ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले मकवानपुरमा दुई ओटा गाडी जलाएका छन् ।

विप्लव कार्यकर्ताहरुले भिमफेदी र सिमभन्ज्याङमा दुई वटा गाडिमा आगजनी गरेका हुन् । भिमफेदी गाउँपालिका– ९ गोलमोडमा हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको ना ४ ख ७९६० नम्बरको मिनि ट्रक र थाहानगरपालिका ४ सिमभन्ज्याङमा पालुङबाट हेटौँडातर्फ जाँदै गरेको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडीमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल छर्किएर आगजनी गरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीबाट दुईवटै गाडी पूर्ण रुपमा क्षति भएको छ भने घटनामा संलग्नको खोजी भइरहेको छ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव देशका विभिन्न भागमा परेको छ। बन्दको कारण काठमाडौँ उपत्यकासहित देशभर नै बिहीबार बिहानैदेखि फाट्टफुट्ट मात्र गाडी चलेका छन्।

काठमाडौंमा लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्रै चल्दा यात्रु समस्यामा परेका छन्। बन्दका कारण बजार र कलकारखाना पनि खुलेका छैनन्।