काठमाडौं, १५ फागुन । अन्तिम खेलमा कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो । तर, कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल नेट रन रेटमा थाइल्याण्डसँग पछि पर्दै ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।
नेपालले छ खेलबाट १० अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड १० अङ्क जोडेर शीर्ष स्थानमा रहँदा युएई आठ अङ्क जोडेर तेस्रो स्थानमा छ । यस्तोमा नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्याण्ड नै बन्यो । राउण्ड रोविनको आधारमा जारी छनोटको छ खेलमा पाँच जीत निकाल्न सफल नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो । गत बिहीबार भएको दोस्रो खेलमा थाइल्याण्डसँग ५८ रनले पराजित भएको थियो ।
शीर्ष स्थानको थाइल्याण्डले अन्तिम खेलमा आजै युएईसँग खेल्दैछ । थाइल्याण्ड र युएईबीचको खेलले ग्लोबल छनोटमा पुग्ने टोलीको तय हुनेछ । थाइल्याण्डको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो रहेको छ । युएईलाई हराएमा १२ अङ्कसहित थाइल्याण्ड ग्लोबल छनोटमा पुग्नेछ ।



लाेकपाटी न्यूज

