मन्त्रिपरिषद्को निर्णय : खेलाडीले डेढ करोड पाउने

cricket news
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौँ, २ फागुन । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्र्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

“सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गर्ने भएको छ”, मन्त्री बाँस्कोटाले भने । लागुऔषध प्रयोगकर्ताका लागि उपचार तथा पुनः स्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ र सेफगाड्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको बताइएको छ ।

सरकारले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने, बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने र अध्यागमन नियमावली, २०५१ को अनुसूची ११ संशोधन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्ति गरेको छ । साथै नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई प्राधिकरणकै कार्यवाहक अध्यक्ष तोक्ने समेत निर्णय गरेको छ । सरकारले पाँच जना सहायक रथीलाई उपरथीमा पदोन्नति गरी पदस्थापन गर्ने तथा पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।