काठमाडौं, २८ माघ । आगामी फागुन २१ गतेबाट प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता हुने तोकिएको भए पनि विद्यालयको हिउँदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको बताएको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमूख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिए । ‘नगरपालिकालाई खेलको माध्यमबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, उनले भने ।
बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी तथा विद्यालयलाई फागुन १० गतेसम्म प्रवेश शुल्क र विद्यार्थी विवरण पेश गर्न नगरपालिकाले आह्वान गरेको छ ।
यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ ।



लाेकपाटी न्यूज

