युएईसँग नेपाल पराजित

Nepali Cricket01
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । नेपाल युएईसँग २१ रनले पराजित भएको छ ।

बिहीबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले निर्धारित ओभरमा दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनले सर्वाधिक ४७ बलमा ५३ रनको योगदान दिए । त्यसक्रममा उनले तीन चौका र एक छक्का हिर्काए । सन्दीपको यो डेब्यू खेल हो ।

त्यस्तै सोमपाल कामीले २७ रन बनाए । कप्तान पारस खड्का ३० रन बनाउँदै पेभेलियन फर्के भने उपकप्तान ज्ञानेन्द्र मल्लले दोहोरो अङ्क बनाउन सकेनन् । उनले ९ बल खेल्दै ७ रन जोडे ।

उता दीपेन्द्रसिंह ऐरी, करण केसी र रोहितकुमार पौडेलले आजको खेलमा जादु देखाउन सकेनन् । यी तीनै ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

बलिङतर्फ युएईका लागि मोहम्मद जाभिद, सुल्तान अहमद र जहूर खानले समान दुई/दुई विकेट लिए । त्यस्तै अमिर हायातले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन जोडेको थियो । उसका लागि सैमान अनवारले सर्वाधिक ५९ रन बनाए । त्यस्तै मोहम्मद उस्मन, सिपी रिजवान र  मोहम्मद बूटाले क्रमश: ३०, २२ र २० रन जोडे ।

बलिङतर्फ बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक/एक विकेट लिए ।

यससँगै तीन खेलको टी-ट्वान्टी शृङ्खलाको पहिलो खेल नेपालले गुमाएपनि अझै दुई खेल बाँकी छ । यसअघि नेपालले एक दिवसीय क्रिकेट सिरिज २-१ ले जितेको थियो ।