काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायर खेल मंगलबार हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा आज पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स इलाभेन भिड्दैछन् । मंगलबार अपरान्ह १२:४५ बजे ललितपुर र काठमाडौंबीचको खेल सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्न मैदान उत्रँदा दुवै टीमको लक्ष्य जीत निकाल्दै फाइनलमा पुग्नु हुनेछ । लिगमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको ललितपुर शीर्ष स्थानमा रहन सफल भएको छ । उसले ५ खेलमा ८ अंक जोड्यो । ललितपुरले पहिलो खेलबाहेक सबै खेल जितेको छ । ललितपुरले आफ्नो लय गुमाउन चाहँदैन ।
रोहन मुस्तफाले कप्तानी सम्हालेको काठमाडौंले पाँच खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफायरको यात्रा तय गर्न सफल भयो । लिग चरणको खेलमा काठमाडौं ललितपुरसँग पराजित भएको थियो ।
आज जित्ने टीम सिधै फाइनल पुग्नेछन् भने पराजित टीमले दोस्रो क्वालिफायर म्याच खेल्ने अवसर पाउनेछ ।



लाेकपाटी न्यूज

