काठमाडौं। ग्लोबल आइएमई र जनता बैंक नेपालले सोमबार ‘बिग मर्जर’को अन्तिम अनुमति शेयरधनीसँग लिँदैछन्। साधारणसभाले मर्जरको विशेष प्रस्तावलाई पारित गरेपछि जनता विलय भएर ‘ग्लोबल आइएमई’ सबैभन्दा ठूलो बैंक बन्ने छ।
अहिले नाफामा सबैभन्दा अगाडि राष्ट्रिय बाणिज्य, नबिल बैंक, एनआईसी एशिया बैंक छन्। मर्जरपछि नाफामा ग्लोबल आइएमइले एनआइसी एसियालाई उछिने तेस्रो स्थान कब्जा गर्ने छ। अहिले नाफामा ग्लोबल स्थान ७औं स्थानमा छ भने जनता २५औं स्थानमा।
नाफालाई छाड्ने हो भने बाँकी सूचकमा ग्लोबल आइएमइ ‘नम्बर वान’ बैंक बन्ने छ। पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायतका सूचकमा बैंकलाई बाँकी सबैलाई पछि पार्ने छ। अहिले सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआईसी एशिया, राष्ट्रिय बाणिज्य र नबिल बैंक छन्। निक्षेपमा पनि सबै बैंकभन्दा अगाडि ग्लोबल हुनेछ।
अहिले चुकता पूँजीका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छ। मर्जरको सिनर्जीले ग्लोबललाई अगाडि धकेल्ने छ। ग्लोबलसँग जनताको शेयर आदानप्रदान अनुपात १०० कित्ता बराबर ८५ कित्ता छ। यस आधारमा जनताको तर्फबाट प्रति शेयर १५ रुपैयाँ जगेडा कोषमा जाने छ। यस्तो रकम एक अर्ब २७ करोड रुपैयाँ हुने छ। मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ।
दुवै बैंकले मर्जरको प्रकृया सकेर मंसिर अन्तिमसम्ममा एकिकृत कारोबार गर्ने योजना बनाएका छन्। सोमबार साधारणसभाबाट पारित भएपछि दुवै बैंकले एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकसँग अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ। राष्ट्र बैंकले अनुमति दिएपछि एकिकृत कारोबार सुरु हुने छ।
अहिले मर्जरका लागि आन्तरिक काम भइरहेको छ। कर्मचारी समायोजन गर्नेदेखि शाखाको व्यवस्थापनसम्मको काम भइरहेकोछ । मर्जपछि ४५ शाखा दोहोरिने छन्। दोहोरिएका शाखामध्ये जनताका २० वटा शाखा ग्लोबलमा गएर मर्ज हुनेछ। ग्लोबलका ९ वटा शाखा जनातामा मर्ज हुने छन्।
बाँकी १६ वटा शाखालाई हालकै अवस्थामा सञ्चालन गर्ने योजना बनाइएको बैंकले जनाएको छ। शाखाहरुलाई भोलिका दिनमा आवश्यकता अनुसार स्थानान्तरण गर्दै लैजाने योजना छ। हाल ग्लोबल आइएमईका लगभग १७ सय ५० जना र जनताको १४ सय ५० जना कर्मचारी छन्। मर्जपछि कर्मचारीको संख्या ३२ सय पुग्ने छ। कर्मचारी समायोजन समान हैसियतमा हुनेछ।
बैंकर्स संघले गरेको भद्र सहमतिका कारण निक्षेपतर्फको ब्याज दर समान छ। ऋणको ब्याज दर आधार दर तलमाथि भएका कारण केही असमान छ। ऋणीको हकमा भने अहिले जे छ त्यही गर्ने दुबै बैंकको सहमति छ। पछि कायम हुने आधार दरअनुसार ऋणको ब्याज दर थपघट गरिने छ।
हाल जनताले फ्लेक्स क्युव सफ्टवेयर प्रयोग गरिरहेको छ भने ग्लोबल आइएमईले फिनाकल। जनता र ग्लोबल आइएमईको सहकार्यमा जनाताका कर्मचारीहरुलाई फिनाकल चलाउने तालिम प्रदान गरिरहेको छ। हरेक शुक्रबार र शनिवार सफ्टवेयरको तालिम दिएर कर्मचारीहरुलाई अभ्यस्त बनाउने काम भइरहेको छ। बिजमाण्डुमा समाचार छ।



लाेकपाटी न्यूज

