सुनकाे मूल्यमा गिरावट कायमै, आज ताेलाकाे कति ?

लाेकपाटी न्यूज

काठमाडाैं, २६ भदाै। लगातार दुई महिनादेखि उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ। गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ।

शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो। त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो। बुधबार भने सुनको मूल्य स्थिर रह्यो।

आज पुनःसुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ। तेजाबी सुनको मूल्य रु ५० हजार ५०० निर्धारण गरिएको महासंघले जनाएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। बुधबार प्रतितोला रु ८८० मा कारोवार भएको चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ। विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ। केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५४० डलरसम्म पुगेको थियो। विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्