एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्व ओपनर गौतम गम्भीरपछि भारतीय जनता पार्टी (भाजपा) को नजर महेन्द्र सिंह धोनीमाथि परेको छ। धोनीले क्रिकेटबाट सन्यास लिने संकेत गरेपछि नेताहरुको नजर उनीमाथि परेको हो।
पूर्व केन्द्रीय मन्त्री एवं भापजा नेता सञ्जय पासवानले महेन्द्र सिंह धोनीले चाँडै नै क्रिकेटबाट सन्यास लिएर भाजपाको सदस्यता ग्रहण गर्ने दाबी गरेका छन्। यसबारे उनको धोनीसँग थुप्रै पटक भेटघाट र कुराकानीसमेत भइसकेको जानकारी दिएका छन्।
सञ्जय पासवानले एक भारतीय मिडियासँगको कुराकानीमा महेन्द्र सिंह धोनीले क्रिकेटमार्फत् देशको निकै सेवा गरेको र अब उनले क्रिकेटबाट सन्यास लिएर राजनीतिमा प्रवेश गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘यसबारे थुप्रै पटक कुरा भइसकेकाले आशा छ कि उनले यो दिशामा चाँडै नै निर्णय लिनेछन्।’
चुनाव अघि भाजपाले जनसम्पर्कमार्फत् देशका महत्वपूर्ण हस्तीसँग भेटघाट गरेको थियो। यो अभियानलाई पार्टीले ‘सम्पर्क फर समर्थन’ नाम दिएको थियो। यो अभियान अनुरुप भाजपाका अध्यक्ष अमित शाहले महेन्द्र सिंह धोनीसँग भेटघाट गरेर उनीहरुलाई मोदी सरकारको उपलब्धि र आफ्नो पार्टीको विचारबारे अवगत गराएका थिए।



लाेकपाटी न्यूज

