प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी शुरुवात

Farwest
लाेकपाटी न्यूज

कञ्चनपुर, ४ असार। कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले विजयी शुरुवात गरेको छ।

उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो। गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाइन्।

सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान २-२ तथा कविता जोशीले १ विकेट लिइन्। गण्डकीका तीन खेलाडी रन आउट भएका थिए। सुदूरपश्चिमले ७ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेटाएको थियो। सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए।

गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिइन्। खेलको प्लेयर अफ दी म्याच कविता कुँवरलाई घोषित गरियो।