चितवन, २० जेठ । विगत पाँच वर्षदेखि आयोजना गरिँदै आएको चितवन च्याम्पियनशिप कप यसपटक पनि हुने भएको छ।
एभरेष्ट क्लबको आयोजनामा पाँचांै संस्करणको च्याम्पियनशिप जुनियर प्रहरी अधिकृत शिक्षालयको खेल मैदानमा हुनेछ। यही जेठ २४ गतेदेखि असार ७ गते सम्म हुने प्रतियोगिताको पुरस्कार राशी गत वर्षको भन्दा केही बढाइएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताबारे सोमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष अशोक देवकोटाले जिल्लाबाहिरका ८ टीमसहित कुल १६ टीमको सहभागिता रहने बताए। प्रतियोगितालाई हानामी इन्टरनेशनल एजुकेशनले प्रायोजन गरेको छ भने सह–प्रायोजकमा अल्फाबिटा चितवन रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ।
गत वर्ष प्रथम पुरस्कार २ लाख २२ हजार रुपैयाँ थियो। त्यस्तै द्वितीय हुने टीमले १ लाख ५० हजार तथा तृतीय हुने टीमले ५० हजार रुपैयाँ प्राप्त गर्ने क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उत्कृष्ट गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षापंक्तीलाई नगद १०÷१० हजारका दरले पुरस्कृत गरिनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र फोर बर्दस गैंडाकोटबीच प्रतिस्पर्धा हुनेछ। गैंडाकोट गत वर्षको च्याम्पियन हो। प्रतियोगितामा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र गैंडाकोटसहित नारायणगढ फुटबल क्लब, राप्ती रिभर फुटबल क्लब, नारायणी मोटर्स युनिक फुटबल क्लब, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, शशस्त्र प्रहरी बल भण्डारा, जु फुटबल क्लब जुगेडी, हर्दी युवा समाज भण्डाराकाे सहभागिता रहनेछ।
त्यसैगरि भैरव स्पोर्टर्स क्लब नवलपरासी, रामपुर फुटबल क्लब, सुनधारा फुटबल क्लब, वसन्तपुर युनाईटेड क्लब माडी, देशभक्त फुटबल क्लब, हानामी एभरेष्ट क्लब र अभिषेक चर्च नवलपरासीले सहभागिता जनाउने सल्लाहकार संयाेजक सुरजसिंह ठकुरीले जानकारी दिए।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष देवकोटाले हानामी इन्टरनेशनल एजुकेशन र क्लबबीच पाँच वर्षका लागि सम्झौता भएको जानाकारी दिए। सो अवसरमा क्लबको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो। प्रतियोगिता हेर्न रु. ५० को टिकट व्यवस्था समेत गरिएको सम्मेलनमा जानकारी दिइएको छ।



लाेकपाटी न्यूज

