पर्वतको लप्सीमा लाेभिँदै अमेरिका

लप्सी
लाेकपाटी न्यूज

पर्वत । पहाडी जिल्ला पर्वतलाई लप्सी उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँ उत्पादन भएको लप्सी अमेरिकालगायतका देशमा निर्यात हुने गरेको छ । यस वर्ष पर्वतबाट अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ ।

लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका विभिन्न ठाउँमा पुगेर कृषकको लप्सी खरीद गरेर प्रशोधन गर्दै आएको छ ।

उद्योगबाट उत्पादित माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार निर्यात गरिएको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । यस वर्ष उद्योगले कूल १३० टन लप्सी सङ्कलन गरेकोमा अहिलेसम्म ६० टन लप्सी प्रशोधनपछि बजारमा गएको छ भने ७० टन लप्सी प्रशोधनको क्रममा रहेको जनाइएको छ । गत वर्षको यही समयसम्म ४० टन मात्र लप्सी प्रशोधन गरेको उद्योगले अघिल्लो वर्षको तुलनामा यो वर्ष २० टन बढी प्रशोधन गरिसकेको छ ।

उद्योगले पर्वत र बागलुङबाट लप्सी सङ्कलन गरेर प्रशोधनपछि देशका विभिन्न जिल्लासहित विदेशमा पनि निर्यात गर्दै आएको बताउँदै भुसालले भने, ‘अहिलेसम्म प्रशोधन गरिएको लप्सी स्थानीय बजार र अमेरिका पुगिसकेको छ । कोरियाबाट पनि माग आएको छ, अब प्रशोधन गरिएको लप्सी कोरिया पठाउछौँ ।’

भुसालकाअनुसार यो वर्ष प्रशोधित लप्सीको बिक्रीबाट रु. २० लाखभन्दा बढी कमाइ हुने अपेक्षा गरिएको छ । वि.सं २०५८ मा स्थापना भएको उद्योगमा बर्सेनि नाफा बढ्दै गएको छ । उद्योग स्थापनापछि बसाइँसराइ र अन्य कारणले पनि बाँझो रहेका जिल्लाका पाखाबारी तथा खाली जमीनमा लप्सी लगाउने होड चलिरहेको छ । केही वर्षअघिसम्म बोटबाटै झरेर कुहिने गरेको लप्सीले आजभोलि मूल्य पाउन थालेपछि कृषक उत्साहित भएका छन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्