डीपीएल : धनगढीलाई हराउँदै काठमाडौंको विजयी सुरुवात

kathmandu kings01
लाेकपाटी न्यूज

काठमाडौं, २८ माघ । काठमाडौं किंग्सले धनगढी प्रिमियर लिगअन्तर्गतको पहिलो खेलमा जित हात पारेको छ । सोमबार भएको पहिलो खेलमा घरेलु टिम धनगढी स्टार्सलाई काठमाडौंले चार विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाउन सफल भयो ।

गतिलो सुरुवात गर्न नसकेको धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा रनआउट भएका थिए । त्यसपछि अर्को ओपनर सुनील धमला मात्र तीन रनमा पेभेलियन फर्के । तेस्रो विकेटका लागि अमित श्रेष्ठ र रन्दिप रजालीले अर्धशतकीय साझेदारी गर्दै धनगढीको इनिङ उकासे ।

धनगढीका लागि सन्दिपले २८ रनको योगदान गरे । त्यस्तै पवन सर्राफले १९ रन बनाए भने सौरभ खनालले नट आउट २५ रन जोडे ।

बलिङतर्फ एन के यादवले २, ललित राजवंशी र एएम दबासले समान एक–एक विकेट लिए ।

धनगढिले दिएको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले खेल सकिन एक बल बाँकी छँदै छ विकेट गुमाउँदै १३३ रन बनायो । काठमाडौंका लागि गौरव तमोरले २८, अनिल शाहले २४ तथा एएम दबासले २९ रन बनाउँदै जीत दिलाए । बलिङतर्फ रोहन मुस्ताफाले सर्वाधिक ४ विकेट लिए ।