काठमाडौं। भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गर्यो।
खेलको पाँचौँ तथा निर्णायक सेट १५-५ को जित निकाल्दै भारतले उपाधि जितेको हो। खेलको पहिलो सेट नेपालले जित्यो। करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५-२३ ले आफ्नो पक्षमा पार्यो। निकै प्रतिस्पर्धात्मक बनेको सेट २१-२३ को स्थितिलाई सुधार्दै नेपालले २३-२३ को बराबरीमा ल्यायो। त्यसपछि नेपालले लगातार दुई अंक बटुल्दै पहिलो सेट जित्न सफल भयो।
खेलको दोस्रो सेट भने नेपालले गुमायो। करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५-१४ को जित निकाल्यो।
खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५-२२ ले जित्यो। खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५-२१ ले आफ्नो पक्षमा पार्यो।
नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो।
फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो।



लोकपाटी न्यूज

