काठमाडौं। फाइनलमा इंग्ल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै स्पेनले १२ वर्षपछि युरोकपको उपाधि जितेको छ। निकै रोमाञ्चक खेलमा पहिला अग्रता लिएको स्पेनलाई इंग्ल्याण्डले १-१ को चुनौती दिए पनि अन्तमा गोल फर्काउँदे स्पेनले उपाधि जित्यो। दुवै गोल हाफ टाइमपछि भयो।
इंग्ल्यान्ड भने लगातार दोस्रो पटक फाइनलमा स्तब्ध बन्यो। अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको इंग्ल्यान्ड यो पटक स्पेनसँग स्तब्ध बन्यो। जर्मनीको राजधानी बर्लिनस्थित ओलम्पिया स्टेडियममा भएको खलमा निर्धारित समयको ४ मिनेट बाँकी रहँदा मिकेल ओयरजावलले गरेको गोल निर्णायक बन्यो।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिएको थियो। लामिन यमलको पासलमा निको विलियम्सले ४७ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए।
तर खेलमा फर्कने क्रममा ७३ औं मिनेटमा सब्सटिच्युट कोले पाल्मरले जर्ज बेलिङ्घमको पासलाई २२ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल बराबरीमा ल्याउन इंग्ल्यान्ड सफल भएको थियो।
तर बराबरीलाई अन्तिम केही मिनेट जोगाउन इंग्लिस टोली असफल भयो। ८६ औं मिनेटमा ओयरजावलले गोल गर्दै स्पेनको उपाधि निश्चित गरे। योसँगै स्पेन चौथो पटक युरोकप विजेता बनेको छ भने इङ्ल्याण्ड लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ।



लोकपाटी न्यूज

