काठमाडौं। भारतमा जारी आईपीएलको १५ औँ सिजन अन्तर्गत रोयल च्यालेनजर्स बैंग्लोर (आरसीबी) विजयी भएको छ। शनिबार भएको दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १६ रन ले पराजित गर्दै आरसीबी विजयी भएको छ।
आरसीबीले दिएको १९० रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो। दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ६६ रनको योगदान दिए।
त्यस्तै, कप्तान रिषभ पन्तले ३४ र शार्दुल ठाकुरले १७ रनको योगदान दिए। आरसीबीका लागि जोश हेजलउडले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, मोहमद सिराजले २ र वानिन्दु हर्सरंङ्गाले एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो। बैंगलोरका लागि दिनेश कार्तीक र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले। ३४ बल खेलेका दिनेशले ५ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै ३४ बल खेलेका म्याक्सवेलले ७ चौका र २ छक्का प्रहार गरे। बैंगलोरका शाहवाज अहमेदले ३२ रनको योगदान गरे। बलिङतर्फ दिल्लीका लागि शार्दुल ठाकुर, कलेल अहमेद, अक्षर पटेल र कुलदीप यादवले एक/एक विकेट लिए।
जितसँगै बैंगलोर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिगमा ६ खेल खेलेको बैंगलोर ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। पराजित दिल्ली ५ खेलबाट ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।



लोकपाटी न्यूज

