गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो।
राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले। २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे। बलिङतर्फ गुजरातका लागि लकी फग्र्युसन र यस दयालले समान तीन/तीन विकेट लिए । त्यस्तै मोहमद श्वामी र कप्तान हार्दीक पाड्याले समान एक/एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो। गुजरातका लागि कप्तान हार्दिक पाड्याले ८७ रनको अर्धशतकीय पारी खेले। ५२ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै अभिनव मोनहरले ४३ रन बनाउँदा डेभिड मिलरले ३१ रनको योगदा गरे। बलिङतर्फ राजस्थानका लागि कुलदीप शेन, युजभेन्द्र चहाल र रियन परागले समान एक/एक विकेट लिए। जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ। गुजरात तालिकाको शीर्ष स्थानमा छ। पराजित राजस्थान ५ खेलबाट ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।



लोकपाटी न्यूज

