देशको चालु खाता ४६२ अर्ब ९३ करोडले घाटामा

Nepal-Rastra-Bank
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको चालु खाता रु.४६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी दिएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारेको ८ महिने समीक्षा रिपोर्टमा यसबारे जानकारी दिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५१ अर्ब ४२ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई रु.७ अर्ब कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६०.० प्रतिशतले वृद्धि भई रु.१६ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ११ अर्ब ९१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १० अर्ब १८ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब १ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ।