उपाधि जित्नका लागि खेल्ने छौँ : कप्तान सन्दीप

लोकपाटी न्यूज

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन्। फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए।

‘फाइनल खेल निकै नै महत्पूर्ण छ। हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौं,’ सन्दीपले भने। नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको फाइनल खेल कीर्तिपुरस्थित टियू मैदानमा दिउँसो साठे १२ बजे सुरु हुनेछ।

त्रिदेशिय टी-२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो। नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो। पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो। यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ। उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ।

खेलाडी र क्यानबीचको विवादसँगै क्यानले सन्दीपलाई कप्तानी घोषणा गरेको थियो। सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्त्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए।

‘टिमको सदस्य हुँ। अरूलाई जस्तो मलाई पनि उस्तै छ। मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने। यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलिसमेत प्रतियोगिता जित्न खेल्ने बताए।