सातौं पटक अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ। आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डलाई ७१ रनले हराउँदै अष्ट्रेलियाले विश्वकप उपाधि जितेको हो।

फाइनल खेलमा अष्ट्रेलियाले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ८५ रन मात्र बनाउन सक्यो। उसका लागि नाट सिभरले शतकीय इनिङ खेलेपनि जित दिलाउन सकिनन्। उनले १ सय २१ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहिन्।

यस्तै टामी बिउमोंटले २७, कप्तान हेथर नाइटले २६, यमी जोन्सले २०, सोफिया डंक्लेले २३ र चार्ली डीनले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

अष्ट्रेलियाको जितमा एलना किङ र जेस् जोनासेन समान ३र३ तथा मेगन चुटले २ विकेट लिइन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५७ रन बनायो। उसको ठुलो स्कोरमा एलेस्या हिएलेले १ सय १७ रनको शतकीय इनिङ खेलिन्। अष्ट्रेलियाले यो सहित ७ पटक विशेकाप जितेको हो।