काठमाडौं। सत्तारूढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलका लागि तीन तहमा संयन्त्र बनाउने निर्णय गरेका छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश, जिल्ला र पालिकास्तरमा संयन्त्र बनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा पाँच दलका नेता रहने संयन्त्र बनाउने निर्णय भएको छ। उनकाअनुसार उक्त संयन्त्रले सम्बन्धित ठाउँमा पाँचदलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन बनाउनेछन्। उक्त प्रतिवेदन चैत २२ भित्र केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ।
पार्टीहरूका अवस्था हेरेपछि मात्रै कहाँ कुन पार्टीका उम्मेदवार उठाउने भन्ने निर्णय गर्ने तयारीमा गठबन्धन छ। गठबन्धनले महानगरमा भने केन्द्रबाटै टिकट टुंगो लगाउने तयारी गरेका छन्। पाँचदलीय गठबन्धन एकढिक्का भएर चुनावमा जाने निर्णय भएको कार्कीले बताए।
बैठकमा देउवा, माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड, खनाल लगायतको सहभागिता थियो। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्नुपर्ने निर्णय गरेको थियो। आजै देउवा र प्रचण्डले पनि चुनावी तालमेल गरेरै निर्वाचनमा जाने बताएका थिए।



लोकपाटी न्यूज

