काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत २५ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।
कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री गर्ने लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको दुई लाख २१ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओमा छिटोमा चैत २९ र ढिलोमा ०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ। कम्पनीले आइपिओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले लघुवित्तको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।



लोकपाटी न्यूज

