- पुस्कर बोहरा
काठमाडौं। न्यूजिल्याण्डमा जारी आइसिसी महिला एकदिवसीय विश्वकपबाट भारत बाहिरिएको छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित भएसँगै भारत विश्वकपबाट बाहिरिएको हो। भारतले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाएर पूरा गर्यो।
उसका लागि लौरा वोल्भार्डले अर्धशतकीय पारी खेलिन्। उनले ७९ बलमा ११ चौकाको मद्दतमा ८० रन बनाइन्। त्यस्तै, लारा गुडलले ४९, मारिजेन क्यापले ३२, कप्तान सुने लुसले २२, क्लो ट्राइयोनले १७ र मिग्नोन डु प्रेज अविजित ५२ रनको योगदान दिइन्।
भारतका लागि बलिङमा राजेश्वरी गायकवाड, हरमनप्रीतले दुई/दुई र दीप्ति शर्माले एक विकेट लिइन्। त्यसअघि, टस जितेर पहिला रोजेको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ७४ रन बनायो। उसका लागि ब्याटर स्मृति मन्धनाले सर्वाधिक ७१ रन बनाइन्।
त्यस्तै, कप्तान मिताली राजले ६८, सेफली वर्माले ५३, हरमनप्रीत कौरले ४८ रनको योगदान दिइन्। दक्षिण अफ्रिकाका लागि बलिङमा मसाबता क्लास, शबनिम इस्माइलले दुई/दुई, अयाबोंगा खाका र क्लो ट्राइयोनले एक/एक विकेट हात पारिन्।



लोकपाटी न्यूज

